• जेष्ठ ५ २०८३, मंगलवार

निर्वाचनको मुखमा उपभोग्य वस्तुको मूल्यवृद्धि

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं । निर्वाचनको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।

आसन्न निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो । सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताले गुनासो गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दसैं तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए।

कुलेश्वरका खाद्य सामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खाने तेल, दाल चामलको मूल्य बढेर नै आएको बताए । उनले डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको बताए । श्रेष्ठले बाहिरबाट नै वस्तुको मूल्य बढेर आएकाले बजारमा बेच्नलाई समेत समस्या भएको बताए ।

उपभोक्ताले भने सरकार निर्वाचनमा मात्रै नभएर उपभोक्ताले प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्यको विषयमा पनि बजार अनुगमनमा ध्यान दिनुपर्ने बताएका छन् । बजारमा उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दिनभर काम गरेर बिहान बेलुका दुई छाक टार्नेहरु मारमा परेका छन् ।