प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
प्युठान नगरपालिका वडा नम्बर-५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् ।
प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए ।