• बैशाख २७ २०८३, आईतवार

विश्व कप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

कार्तिक २२ २०७९, मंगलवार

काठमाण्डौ। विश्व कप फुटबल देखाउने नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले दिएको छ ।

प्रकाशमान सिंह राउतको एकल इजलासले विश्व कपका नाममा थप पाँच सय रुपैयाँ असुल्दा ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

केही निजी कम्पनी र सरकारको साँठगाँठमा उपभोक्ता अधिकार विपरीत अतिरिक्त पाँच सय रुपैयाँ असुल्ने निर्णय भएको भन्दै उपभोक्ताहरूको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

सर्वोच्चले निवेदकले भनेअनुसार नै शुल्न नलिन अल्पकालीन अन्तरिम आदेश दिँदै कात्तिक २७ गते छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

रिट निवेदकले सञ्चार मन्त्रालयसहित विश्व कपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया होम तथा टेलिभिजन सेवा प्रदायकसमेतलाई विपक्षी बनाएका छन् ।

मङ्सिर ४ गतेदेखि सुरु हुने विश्व कप फुटबलको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार पाएको मिडिया हब कम्पनीले ग्राहकबाट अतिरिक्त पाँच सय रुपैयाँ असुल्ने निर्णय गरेर विज्ञापनसमेत सुरु गरिसकेको छ ।