• जेष्ठ ५ २०८३, मंगलवार

कोप-२७ को दोस्रो दिन : युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भिडियो सन्देश देखाइने, ५४ देशका नेताले सम्बोधन गर्ने

कार्तिक २२ २०७९, मंगलवार

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप २७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ ।

‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु भइ दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिनु हुने कोपको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय सत्रमा पहिलो दिन सोमबार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरसले जलवायुसम्बन्धी विपद् रोक्नका लागि सबैलाई आग्रह गर्नुभएको थियो । ‘उच्चस्तरीय सत्र’को पहिलो दिन विभिन्न मुलुकका ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिएका थिए ।

‘उच्चस्तरीय सत्र’को अन्त्यमा युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीको भिडियो सन्देश देखाइने कार्यक्रम छ । कोप(२७ आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो । इजिप्टको शार्म एल(शेखमा यही कात्तिक २० देखि सुरु भएको सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म हुनेछ । ‘उच्चस्तरीय सत्र’पछि विभिन्न विषयका वार्ता र छलफल हुनेछन् ।