काठमाडौं।नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त निर्वाचन गराउन माग गरेको हो ।
मतदानस्थल, मतदाता शिक्षासमेत अपाङ्गता मैत्री बनाउन संस्थाका अध्यक्ष भूपराज पाठकले सरोकारवालालाई आग्रह गरेका छन् । “यसअघिका निर्वाचन अपाङ्गता मैत्री हुन सकेको छैन । अहिलेको निर्वाचनमा मतदानस्थलमा ह्विलचियर जान मिल्ने व्यवस्था गर्नुपर्दछ, दृष्टिविहीनका लागि दृष्टिविहीन मैत्री निर्वाचन क्षेत्र र न्यून दृष्टिविहीन भएकाहरुलाई ठूलो आकारको मतपत्रसँगै उज्यालो ठाउँमा मतसङ्केत गर्ने व्यवस्था हुनुपर्दछ”, उनले भयो, “सुस्तश्रवणहरुका लागि निर्वाचन आयोगले बनाएको नियमानुसार दोभासेको व्यवस्था गरी पहुँचयुक्त मैत्री निर्वाचन गरिनुपर्दछ ।”
निर्वाचन आयोग तथा राजनीतिक दलहरु पनि यसतर्फ सचेत हुनुपर्ने उनले बताए । अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन र अपाङ्ग मैत्री निर्वाचन गराउन नेत्रहीन युवा सङ्घले चितवनमा विभिन्न कार्यक्रम गरी दबाब दिइरहेको छ । राजनीतिक दलहरुमा अपाङ्गता भएका व्यक्तिहरुको समान पहुँच र सहभागिताका लागि जिल्लाका सक्रिय राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको संस्थाका सचिव किरण पन्तले जानकारी दिए । उनका अनुसार, मतदानस्थललाई अपाङ्गता मैत्री बनाउन निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराइएको छ ।
पर्यवेयक्षकका रुपमा अपाङ्गता भएका व्यक्तिको सहभागिता गराउन कास्की, रुपन्देही र चितवनका ३३ जनालाई प्रशिक्षण दिइएको पन्तले जानकारी दिए। तालिम प्राप्त २५ जना प्रशिक्षकमार्फत अपाङ्गता भएका व्यक्ति तीन सय २५ घरधुरीका एक हजार पाँच सयभन्दा बढीलाई मतदाता शिक्षा प्रदान गरिएको छ । चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा नमूना मतदान गरिएको उनले जानकारी दिए । नमूना मतदानमा शत्प्रतिशत मत सदर भएका थिए । यस्ता कार्यक्रमले निर्वाचनबारे सकारात्मक सन्देश जाने र मतको सही सदुपयोग हुने विश्वास संस्थाले लिएको छ ।