काठमाडौं । बाबुको क्रुर हत्या अभियोग, गाई गोरुको चोरी निकासीसहित अन्य विभिन्न घटनामा संलग्नलाई पहरीले पक्राउ गरेको छ । आज (सोमबार) नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार हत्या अभियोग, चोरी निकासीसहित विभिन्न घटनामा संलग्न ३० लाई देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
रोल्पामा आफ्नै बाबुको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान जिल्लाको त्रिबेणी गाउँपालिका–४ पोखरीबाट प्रहरीले पक्राउ गरेको हो ।
५४ वर्षीय बुवा मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा २३ वर्षीय सन्दीप घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घरको भान्सा कोठामा बाबु छोरासँगै बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवाद भएको थियो । उक्त विवाद चर्किएपछि सन्दीपले पिर्का प्रहार गर्दा बाबु मानसिंहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनासम्बन्धी खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
त्यस्तै बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम अठराई गाउँपालिका–५ ठेगाना भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई आज प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको छ ।
मिश्रले २०७७ भदौ २२ गते कामना सेवा बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।
दोलखा, गौरीशंकर गाउँपालिका–६ चंगुबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (आइतबार) राति सोही पालिकाबाट ३८ वर्षीय निमपासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
शेर्पालाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । निमपासाङ र सोही गाउँ बस्ने उनका पासाङ शेर्पाबीच आफसमा झगडा भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पासाङलाई सोधपुछ गर्दा निमपासाङले सामान्य विवादमा भरुवा बन्दुक बोकी आएको भन्ने बताएपछि उनलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित भित्रि सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय केजी सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय मनिस दर्नाल र ३१ वर्षीय योगेन्द्र बजगाई रहेका छन् । प्रहरी चौकी मधुबनबाट खटिएको प्रहरीले बा.११ च ३०४२ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडी चालक मनिस र गाडीका सहचालक योगेन्द्रलाई पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका–१२ रामथलीबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित सोही नगरपालिका–१२ बस्ने ५८ वर्षीय प्रेम बहादुर लो लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट रतनपुरतर्फ काधमा गाँजा बोकी लैजाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट रतनपुर र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ लागूऔषध फाली भाग्न खोजे पश्चात उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१० बस्ने २० वर्षीया प्रिती रानालाई अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका–३ मायामेट्रो अस्पतालमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले फेला पारी जाँज गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारेको हो ।
नवलपरासी (पूर्व), गैडाकोट नगरपालिका–२ बस्ने ४१ वर्षीय बिनोद सुनारलाई नियन्त्रित लागूऔषध डाईजेपाम २१ एम्पुल, नुफिन २० एम्पुल र फेनारगन १४ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका–८ हर्दियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९५ एम्पुल, नुफिन ९८ एम्पुल र फेनारगन ९९ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–९ बस्ने २१ वर्षीय अशोक खड्का र दोलखा शैलुङ गाउँपालिका–३ घ्याङसुकाठोकर बस्ने ३१ वर्षीय सम्राट कार्की रहेका छन् ।
र्लाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ५७१४ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, मिर्चैया नगरपालिका–५ थाना चौकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–१० रतनपुर टोल बस्ने २६ वर्षीय रविन्द्र यादव र सोही नगरपालिका–४ मिर्चैया बजार बस्ने २० वर्षीय अनिस कुमार साह रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेक पोईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम सहित दैलेख नौमुले गाउँपालिका–२ बबर सैनी बस्ने २५ वर्षीय रमेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई मलद्वारभित्र लुकाई छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका–१६ रजन्तिचौकबाट अवैध लागूऔषध गाँजा २ केजी सहित भारत बिहार राज्य घर बताउने ५५ वर्षीय बालक दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पासीले ती महिलालई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित बौद्ध गेष्ट हाउसको १०९ नम्बरको कोठाबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थान सहित भारत अरूणाचल प्रदेश करुङ्ग कुमे घर बताउने ५५ वर्षीय ग्यमार तपर लगायत ३ जना भारतीय नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेष्ट हाउसमा गत शनिबारदेखि बस्दै आएका उनीहरूले भालुको पित्त बिक्री गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त कोठा तलासी गर्दा झोलामा लुकाइ राखेको उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी गल्मतीस्थित टहरामा गलैचा कारखाना संचालन गर्ने मकवानपुर बकैया गाउँपालिका–१ घर भएका २८ वर्षीय रोहित तामाङलाई चोरी पैठारी गरी ल्याएको खयरको जस्तो देखिने काठबाट बनाइएको डमरूको फ्रेम १ सय ६० थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले खयर जातको काठबाट बनाएको डमरुको फ्रेम मकवानपुर बकैयाबाट चोरी पैठारी गरी ल्याई उक्त टहरामा लुकाइ राखेको भन्ने सूचानाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त परिमाणको डमरूको फ्रेम सहित उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–५ मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् । उक्त एटिएमको ढोकाको सिसा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका–६ घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेका छन् । ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोलबाट अवैध रुपमा १२ वटा गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका–४ बस्ने २० वर्षीय ईसलाम अंसारी सहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
हरपुरबाट भारततर्फ गाई गोरूहरू चोरी निकासी गरी लैजाँदै गरेको भन्ने सूचानाको अधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका–७ गंगाहिटी मिरमिरे टोलस्थित रुपचन्द्र श्रेष्ठको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५७ हजार ८ सय ५५ रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।