काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जुम्ला जिल्ला समिति नेकपा एमालेमा समाहित हुने भएको छ । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर दुवै पार्टी एक भएको घोषणा हुने बताइएको छ ।
एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेले दुवै पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको घोषणा गरिने बताए ।
उनले भने– ‘हामी तयारी गरिरहेका छौं अझै २ घण्टाजति लाग्न सक्छ, जेहोस् अधिकांश साथीहरू एमालेमा जानुहुन्छ ।’ एमालेका केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज रतननाथ योगी समाजवादी पार्टीको करिब ७० प्रतिशत कमिटी एमालेमा समायोजन हुने बताउँछन् । तर समाजवादीका जिल्ला इन्चार्ज एवं भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया भने बढीमा १० जना मात्र एमालेमा जान लागेको तर पुरै कमिटी समाहित हुन लागेको हल्ला फैलाउने काम भएको बताउँछन् ।
उनले भने–‘समाजवादीको २० प्रतिशत मान्छेहरू एमालेमा गएपनि हामी चुनाव जित्छौँ ।’ रोकाया जुम्ला (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।