काठमाडौं । ललितपुरको ग्वार्कोमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले १ सातापछि नियन्त्रणमा लिएको छ।
कात्तिक १२ गते बेलुका ७:५० बजेतिर ग्वार्कोमा बाटो काट्दै गरेकी एक युवतीलाई गाडीले ठक्कर दिएर फरार भएको थियो। नम्बर प्लेट नखेलेको गाडीले ठक्कर दिँदा अन्दाजी २० वर्ष जतिकी युवती गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । यद्यपी अझै पनि ति युवतीको पहिचान खुल्न सकेको छैन ।
नम्बर प्लेट नखुलेको गाडी फरार भएपछि प्रहरीले एक सातापछिको अनुसन्धानपछि सो गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा प्रत्यक्षदर्शीले दिएको जानकारीको आधारमा इम्बोस्ट नम्बर प्लेट भएको र पछाडिको सिसामा २ वटा स्टीकर टाँसिएको भन्ने विवरणको आधारमा प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
युवतीलाई ठक्कर दिने गाडी बागमती प्रदेश बी एए ५५६३ भएको भन्ने पहिचान भएपछि उक्त गाडी र त्यसका चालक प्युठानको प्युठान नगरपालिका–२ का ४७ वर्षीय वीरबहादुर राउतलाई नियन्त्रणमा लिएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए। शनिबार गाडीसहित पक्राउ परेका चालकलाई सवारी ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।