काठमाडौँ । गृह जिल्लामा रहेका प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले आज काठमाडौं फर्किदै छन् । गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने र काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
देउवा गत बुधबार मात्र काठमाडौंबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर देउवाले अमरगढी नगरपालिकास्थित बसपार्कको आमसभालाई सम्बोधन गरेका थिए।
उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरे भने शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए।
देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट सातौँ पटक संघीय संसदका उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।
डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन्।