• बैशाख २७ २०८३, आईतवार

रुकुम पूर्वमा गठबन्धनका उम्मेदवारलाई बागी उम्मेदवारले प्रचारमा गरे अवरोध, के छ पछिल्लो जानकारी ?

कार्तिक १७ २०७९, बिहीबार

काठमाडौं । रुकुम पूर्वमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट बिद्रोह गरी बागी उम्मेदवारी दिएकाहरूका समर्थकले सत्ता गठबन्धन उम्मेदवारलाई चुनावी प्रचारमा अवरोध गरेका छन् ।

जिल्लाको प्रदेश (१) मा माओवादी केन्द्रबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका सुरुल पुनमगर र कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवार बनेका दुतकुमार पुनका समर्थकले सत्ता गठबन्धनका उम्मेदवार र नेताहरूलाई जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगंगा गाउँपालिकाको क्षेत्रमा जाँदा अवरोध गरेका हुन् ।

भूमे गाउँपालिका–२ काँक्रीबाट तकसेरा जाने सडक खण्डमा बीच बाटामा अवरोध गरिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य ध्रुवबिक्रम ओलीले बताए । गठबन्धनको समूह फर्किएर अहिले खावाङबगरमा द्विपक्षीय छलफल गरी समाधान निकाल्ने तयारीमा छन् ।

प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका पूर्णबहादुर घर्तीको पक्षमा आफूहरू भए पनि आफूहरूले सत्ता गठबन्धनका तर्फबाट प्रदेश (१) मा उम्मेदवार बनेका माओवादीका ओलीको विरुद्धमा जाने बागीका समर्थकले बताउँदै आएका छन् ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमख डिएसपी प्रकाश डाँगीले अहिले अवस्था शान्तिपूर्ण रहेको र दुबै पक्ष छलफलमा रहेको बताए ।