• जेष्ठ ५ २०८३, मंगलवार

३ जनाको ज्यान जानेगरी गाडी दुर्घटना गराएका चालक चौधरी समातिए

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौं । सोमबार रुपन्देहीको ओमसतिया–४ पननीमा भएको दुर्घटनामा फरार रहेको गाडीसहित चालक पक्राउ परेका छन् । स्थानीय छठघाट रोहिणी खोला जाँदै गरेका सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीले ठक्कर दिँदा तीन जनाको मृत्यु र दुईजना घाइते भएका थिए ।

ठक्करपछि फरार रहेको चालक र गाडीलाई रुपन्देही प्रहरीले भैरहवाको गल्लामण्डीबाट पक्राउ गरेको हो । बिहान ४ बजेर ५५ मिनेटमा पैदलयात्रीलाई ठक्कर दिँदा गाडीले केही भाग र संकेत घटनास्थलमै छाडेकाले घटना भएकै दिन गाडी र चालक पहिचान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

अनुसन्धानबाट रुपन्देहीको रोहिणी गाउँपालिका–३ घर हुने अजयकुमार चौधरीले चलाएको बा८च ६५३२ नम्बरको टाटा इन्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि गरेको छ । दुर्घटनामा परेको गाडी सिद्धार्थनगर–४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमबार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिएको एसपी रेग्मीले बताए ।

दुर्घटनामा परी ओमसतिया४ पननीकै दुई महिनाको श्रीराम कुर्मी, वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमशिला कुर्मीको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।