• बैशाख २७ २०८३, आईतवार

अब ७ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौैं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब ७ जिल्लाको मात्रै प्रत्यक्षतर्फको मतपत्र छाप्न बाँकी छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाइ सकिएर ७५ जिल्लामा ढुवानी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौं, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ।

यी जिल्लामा करिब ८४ लाख मपतत्र आवश्यक पर्ने आयोगले जनाएको छ। आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड तथा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ करोड १४ लाख ५६ हजार ५०० मतपत्र छपाइ गरिसकेको छ।

हालसम्म गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रूकुम पश्चिम तथा रूकुम पूर्वमा प्रत्यक्षतर्फको मतपत्र ढुवानीसमेत भइसकेको छ।

पहिलो चरणको निर्वाचन सामग्री ७७ वटै जिल्लामा
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सामग्री सबै जिल्लामा ढुवानी भइसकेको जानकारी दिएको छ।

डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भइसकेको आगोले जनाएको छ। बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम छ।

हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ। दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने छ।