• जेष्ठ ५ २०८३, मंगलवार

सन्दिपलाई १२ वर्ष कैद माग गर्दै अदालतमा मुद्दा, भोली बहस हुने

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं । किशोरीमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा १२ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा अभियोग पत्र दायर गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकृतले अदालतमा मुद्दा दर्ता भइसकेको जानकारी दिए। उनका अनुसार थुनछेक बहस भने भोलि (मंगलबार)देखि सुरु हुनेछ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी थिइन्।

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ।