• बैशाख २७ २०८३, आईतवार

मतदान सकिएको १५ दिनभित्र खर्च विवरण बुझाउन उम्मेदवारलाई आयोगको निर्देशन

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले दल तथा उम्मेदवालाई आमसभा तथा कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्च विवरण मतदान सकिएको १५ दिनभित्र बुझाउन भनेको छ। उम्मेदवारहरुले १७ गतेबाट सभा सम्मेलन तथा प्रचारप्रसार गर्न पाउनेछन्। यसको पूर्वसन्ध्यामा आयोगले सोमबार एक विज्ञप्तिमार्फत् उम्मेदवारहरूलाई आचारसंहिताबारे स्पष्ट पारेको हो।

‘आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ,’ आयोगले आफ्नो विज्ञप्तिमा भनेको छ।

यस्तै, दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्राबधानहरु आचारसंहितामा रहेको व्यहोरासमेत आयोगले स्पष्ट पारेको छ।

अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको छ। जसअनुसार उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने छन्।