एजेन्सी । आइतबार छठको समयमा मानिसको ठूलो समूह जम्मा भइरहेका बेला खोलाको पुल भत्किँदा कम्तिमा ९० जनाको मृत्यु भएको छ।
आइतबार छठको समयमा गुजरातको मोरबीमा रहेको एउटा पुलमा मानिसको ठूलो समूह जम्मा भइरहेका बेला उक्त पुल भत्किएको थियो।
ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ।
अहमदाबादबाट दुई सय किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो।
मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन्। ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो। यो अक्टोबर २६ मा पुनः खोलिएको थियो।