• जेष्ठ ५ २०८३, मंगलवार

दार्चुला घटनाबारे परराष्ट्रले पठायो भारतलाई ‘कुटनीतिक नोट’

कार्तिक १३ २०७९, आईतवार

काठमाडौँ । परराष्ट मन्त्रालय भारतीय पक्षको लापरबाहीका कारण दार्चुलामा ९ वर्षीया बालक पवन महराको मृत्युसम्बन्धी घटनाप्रति गम्भीर आपत्तिसँगै अन्तर्राष्ट्रिय सीमा वारपार हुने निर्माण कार्यमा अपेक्षित अभ्यासमा ध्यान दिन आग्रहसहितको कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार भारत सरकारलाई पठाएको पत्रमा भारततर्फ निर्माण कार्यका क्रममा विष्फोट भइ दार्चुलाको व्यास गाउँपालिकाका ज्यान गुमाएका पवन महरा र घाइते सरिना महराका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन पनि माग गरेको छ।

साथै मानवीय क्षति निम्तिने यस्ता गतिविधिहरुलाई उच्चतम प्राथमिकताका साथ सम्बोधन गर्न पनि भारत सरकारलाई सुझाइएको छ। ‘भारतीय पक्षलाई कुटनीतिक नोट पठाएका छौँ’ परराष्ट्रका एक अधिकारीले भने। उनका अनुशार गृह मन्त्रालयले घटनाबारे परराष्ट्रमा पठाएको स्थलगत प्रतिवेदनका आधारमा भारतलाई पत्र लेखिएको हो।

‘बाहिर संचारमाध्यममा आएजस्तो परराष्ट्रले उक्त घटनाप्रति चासो नदिएको भन्ने कुरा सत्य होइन। गृह मन्त्रालयले पठाएको स्थलगत प्रतिवेदन आज बिहान मात्रै पाएका हौँ। हामीले गृहको प्रतिवेदन नआउँदै भारतलाई पत्र लेख्नु उपयुक्त ठानेनौँ’ मन्त्रालयका जानकार अधिकारीले गोलखबरसँग भने।

परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पठाइएको पत्र आइतबार अपराह्न नै काठमाडौँस्थित भारतीय दूतावासलाई र दिल्लीस्थित नेपाली दूतावासमार्फत त्यहाँको विदेश मन्त्रालयलाई बुझाइएको हो।