• बैशाख २७ २०८३, आईतवार

छद्म नामबाट मित्थ्या प्रचार गरे तत्काल कारवाही हुने

कार्तिक ११ २०७९, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालबाट संगठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने बताएको छ ।

आयोगले शुक्रबार एक सूचना जारी गरी छद्म नामबाट सामाजिक सञ्जालमा भइरहेको गतिविधिको नियमन भइरहेको बताएको छ ।

आयोगले सर्वसाधारण मतदाताले आफ्ना सामाजिक सञ्जालबाट दल र उम्मेदवारका पक्ष र विपक्षमा अभिव्यक्ति दिन पाउने तर संगठित रुपमा दुष्प्रचार गर्न नपाइने बताएको हो ।

‘संगठित रूपबाट सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्ताबाट फेसबुक पेज र ग्रुपहरूबाट दल तथा उम्मेदवारहरूका विषयमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति श्रव्यदृश्य सामग्री प्रकाशन गर्नु अन्तराष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भनेका छन् ।

आयोगले पहिचान नखुलेका निहित राजनीतिक उद्देश्यबाट प्रेरित भई निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने उद्देश्यबाट सञ्चालित पेज र ग्रुपहरू कसले सञ्चालन हुने गरेको बताएको छ ।

‘त्यस्ता ‘पेज र ग्रुपहरू कसले सञ्चालन गरेको हो भन्ने नखुलाइ छद्म नामबाट राजनीतिक दल र उम्मेदवार समेतका विरुद्ध दिइने अवाञ्छित, अनावश्यक र असामाजिक रूपमा प्रस्तुत गरिएका अभिव्यक्तिले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा व्यावधान खडा हुने ठानी यस विषयमा गम्भीररूपमा नियमन भइरहेको छ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भनेका छन् ।

आयोगले सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्साहन गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न खोजिएको स्पष्टीकरण दिएको छ ।