काठमाडौं । विदेशी शक्तिको अवान्छित गतिविधिबाट देश जोगाउन भन्दै ५ राजनीतिक दलहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले यही भाद्र २६ गते हुने विरोध जुलुस र सभामा सहभागी हुन देशभक्त शक्ति तथा जनतालाई आह्वान पनि गरेका छन् ।
यसरी संयुक्त प्रेस विज्ञप्तिमार्फत् जुलुसमा सहभागी हुन आह्वान गर्ने पार्टीहरुमा क्रान्तिकारी माओवादी, नेकपा(बहुमत), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी र संयुक्त क्रान्तिकारी मोर्चा रहेका छन् ।
विज्ञप्तिमा ती पार्टीहरुले सार्वभौम भनिएको संसदलाई विदेशी स्वार्थको हित गर्ने अखडामा परिणत गर्ने र त्यसलाई लोकतन्त्रको सुन्दर अभ्यासको संज्ञा दिएर जनतालाई भुलभुलैयामा राख्दै विदेशीको खासगरी अमेरिकी साम्राज्यवाद र भारतीय प्रभुत्ववादको आशीर्वादमा शासन चलाउने दास मनोवृत्ति र दुष्प्रवृत्तिले गर्दा संसदले देशको स्वाधीनतालाई नै गम्भीर खतरामा पार्ने घातक र राष्ट्रहित विपरीतको एमसीसी सम्झौता व्यापक जनविरोधका बावजुद केही महिना पहिला नै पारित गरेको दावी गरेका छन् ।
विज्ञप्तिमा बाह्य जनसाङ्ख्यिक अतिक्रमण बढाउने पुस्तौंपुस्तादेखि नेपालमा बसोबास गर्दै आएका बहुसङ्ख्यक नेपालीलाई अल्पमतमा पार्ने राष्ट्रघाती नागरिकता विधेयक पनि पारित गर्न यतिबेला जोडतोडले संसद लागिरहेको र देशलाई फिजीकरण र सिक्किमीकरण गर्ने बाटो खोलिरहेको गम्भीर आरोप लगाइएको छ ।
विज्ञप्तिमा ‘जनता र राष्ट्रको हितलाई खुलमखुला तिलाञ्जली दिने र रक्षा गर्न नसक्ने र नेपाली जनताले परिवर्तनका लागि चलाएका बलिदानीपूर्ण सङ्घर्षहरुको उच्च जनादेशको ठाडो उल्लङ्घन गर्ने तथा अमर शहीदहरुको घोर अपमान गर्ने काम संसदले गरिरहेको भन्दै यस्तो संसदले न नेपाली जनताको हितको प्रतिनिधित्व गर्न सक्ने न राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मर्यादा र गरिमा नै कायम राख्न सक्दछ भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा र विकासका निमित्त संयुक्त सङ्घर्षमा पाँच वामशक्तिहरु पुगेको’ बताइएको छ ।
ती पार्टीहरुले भनेका छन्,‘यस्तो गम्भीरतम स्थितिमा के तराई के पहाड के हिमाल सबै क्षेत्रका आम नेपाली जनता मजदूर, किसान, महिला, युवा, विद्यार्थी, मधेशी, जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख सबै तह र तप्काका जनसमुदायमा आफ्नो नागरिक स्वतन्त्रता र जनतान्त्रिक अधिकार तथा राष्ट्रिय स्वत्व, अस्तित्व, स्वाभिमान र स्वाधीनताका लागि एकजुट भएर देशको स्वाधीनता र आफ्ना अधिकारको रक्षा गर्न सङ्घर्षको मैदानमा उत्रिनु बाहेक अन्य कुनै विकल्प नरहेको गम्भीर स्थिति सिर्जना भएको औल्याउन चाहन्छौं र सङ्घर्षको मैदानमा सचेत र एकताबद्ध किसिमले खडा हुन सर्वशक्तिमान जनतामा हामी हार्दिक आह्वान गर्न चाहन्छौं ।’
उनीहरुले बाह्य शक्तिको अवाञ्छित स्वार्थको आडमा देशमा उत्पन्न गराइएको आजको यो गम्भीरतम र संवेदनशील स्थितिमा देश र जनताको हितमा आफूलाई क्रियाशील ठान्ने सबै निष्ठावान् देशभक्त, लोकतान्त्रिक, वामपन्थी, तथा कम्युनिस्ट शक्ति, समूह एवम् सत्यनिष्ठ व्यक्तिहरुलाई समेत हामी सङ्कीर्ण राजनीतिक पूर्वाग्रहलाई त्यागेर देश र जनतालाई जोगाउने र रक्षा गर्ने आन्दोलनलाई एकतावद्ध र सशक्त तुल्याउन अग्रसर हुन र पहल गर्न पनि आग्रह गरेका छन् ।