काठमाडौं । लोकसेवा आयोगले लिने शाखा अधिकृत स्तरको तयारी कक्षा नेपाल मगर संघको केन्द्रीय कार्यालयमा आजदेखि शुरू भएको छ ।
नेपाल मगर संघ दक्षिण कोरिया (नेपाल–कोरिया मगर उत्थान कोष)को मुख्य आयोजनामा शुरुवात भएको सो लोकसेवा तयारी कक्षाको व्यवस्थापन मगर संघ हङकङ र मगर संघ अमेरिकाले गरेका हुन् ।
त्यसका लागि ती संस्थाले हेवी ड्युटी फोटोकपी प्रिन्टर सहयोग गरेका छन् । कक्षा सञ्चालनका लागि आवश्यक पर्ने प्रोजेक्टर नेपाल मगर संघ दक्षिण कोरियाले प्रदान गरेको हो ।
नेपाल मगर संघ केन्द्रीय समितिले संयोजन गरेको यस कक्षाको प्राविधिक पक्ष (शिक्षक, साप्ताहिक परिक्षा, शैक्षिक सामाग्री) को व्यवस्थापन एक्सल एजुकेशन एकाडेमीले गर्नेछ ।
तयारी कक्षामा ४१ जना भौतिक रुपमै उपस्थिति हुने छन् भने ६७ जना अनलाइन कक्षा मार्फत् सहभागी हुनेछन् । यसरी १०८ जनाले यस शाखा अधिकृत स्तरको कक्षामा सहभागिता जनाउने छन् ।
आजको कक्षा शुभारम्भ कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद महेन्द्र थापामगर, हङकङका नेपाली महावाणिज्य दुत उदय रानामगर, कर्णाली प्रदेश सरकारका सचिव आनन्द सारुमगर, उपसचिव सरिता रानामगर, संघको दक्षिण कोरिया अध्यक्ष टेक पुनमगर, मगर उत्थान कोषका संयोजक अप्त पुनमगर, हङकङका अध्यक्ष हर्क रानामगर, अमेरिकाका अध्यक्ष कुलदीप रानामगर, डा. छुरा थापामगर (हङकङ) र एकेडेमी संयोजक लिलाराम थापामगरले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरेका थिए भने स्वागत मन्तव्य सहअध्यक्ष गङ्गाबहादुर थापामगरले व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव टेकबहादुर नाम्जालीमागरले गरेका थिए । तयारी कक्षाको नियमित कक्षा २०७९ भाद्र २३ गते बिहान ७ बजेदेखि मगर मुलघर कलंकीमा सञ्चालन हुनेछ ।