काठमाडौं । गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ उर्फ चक्रे मिलन सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
चक्रे मिलन गुण्डा नाइकेको रुपमा परिचित छन् । एमाले गोरखा क्षेत्र नम्बर २ कमिटीले चक्रे मिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमाललाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रले नाम जिल्ला कमिटीमा पठाएको हो ।
एमाले गोरखाका अध्यक्ष प्रेमबहादुर गुरुङले क्षेत्रीय निर्वाचन कमिटीले आकांक्षीहरु सबैको नाम राखेर पठाउनु स्वभाविक भएको बताए । यद्यपि उनले जिल्ला कमिटीमा ती नामहरु सोमबारमात्र आइपुग्ने भन्दै प्रक्रियागत ढंगले अघि बढाइने जनाए ।
‘सिफारिस नै भएको भन्न त मिलेन । आकांक्षा भएका साथीहरुको नामलिष्ट जिल्लामा आइसकेपछि हेरेर अघि बढाउँछ’, उनले भने, ‘भोलि जिल्लामा आइसकेपछि बैठकबाट छलफल गरेर र आवस्यक राय सुझाव लिएर प्रदेशमा पठाइन्छ ।’
यस्तै प्रदेश सभा क्षेत्र (क) मा राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन् । प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र ब्सन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।