• बैशाख २६ २०८३, शनिबार

प्रधानमन्त्री देउवाको कर्मचारीसँग गुनासो- सरकारी कार्यालय नागरिकमैत्री भएनन्

भाद्र १९ २०७९, आईतवार

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन्।

आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री देउवाले भने, ‘नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा म जानकार छु। संघीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समयसापेक्ष गर्ने प्रयास हुनेछ। साथै सरोकारवाला कर्मचारी र विज्ञहरूसँग छलफल एवं परामर्श गरेर संघीय निजामती सेवा ऐन ल्याउने र रूपान्तरित बनाउनेमा सरकारको ध्यान केन्द्रित छ।’

उनले सरकारी कार्यालयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशनसमेत दिए।

प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै उनले निजामती कर्मचारीहरूले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे।