• जेष्ठ ३ २०८३, आईतवार

छोरा रोइकराई गरेकोले रञ्जन कोइरालाको सजाय घटाएको हुँ तर आज गल्ती गरेझैं लाग्दैछ : राणा

भाद्र १९ २०७९, आईतवार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान २५ गतेसम्मका लागि स्थगित भएको छ । महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो ।

आइतबार तेस्रो दिनको बैठकमा राणाले ५ वटा प्रश्नको जवाफ दिएका थिए । योसँगै राणाले ४३ मध्ये ११ वटा प्रश्नको जवाफ दिएका छन् । आइतबार रन्जन कोइरालाको फैसलाबारे सोधिएको प्रश्नमा उनले २० वर्ष कैद घटाउनु पर्नाको कारणमा छोरा रोइकराई गरेको तर्क पेश गरेका थिए ।

‘रञ्जन कोइरालाको मुद्दाका विषयमा न्यायधीशलाई विवेक प्रयोग गर्न दिने ठाउँ हुने भएकोले उनको पारिवारिक अवस्था सुनेर विवेक प्रयोग गरेको हुँ । जवराले यो विषयमा गल्ती गरेको जस्तो महसुस गर्नुभयो’, समितिका सदस्य मीन विश्वकर्माले भने ।

राणाले कोइरालाको मुद्दामा २० बाट घटाएर ८ वर्षमा झारेका थिए । त्यस्तै राणाले उक्त मुद्दामा आफुलाई पछुतो भएको समेत बताएका छन् ।

बैठकको विधि परिवर्तन :

आज बसेको बैठकमा राणालाई सोध्ने प्रश्न र बैठकको विधि परिमार्जन गरिएको थियो । यसअघि प्रश्न सोध्दा समय लम्बिएको र झन्झटिलो भएकोले विधि परिमार्जन गरिएको विश्वकर्माले बताए । ‘आज हामीले बैठकको विधि परिवर्तन गर्यौं । हामीले यसअघि २ दिनमा ६ वटा मात्रै प्रश्नको उत्तर लिँदा निकै लामो भयो भन्ने लागेर यसको विधि परिमार्जन गर्यौं । त्यसैले आज एक घण्टामै ५ वटा प्रश्न सोध्यौं ।’

आजको बैठकमा राणालाई पहिले सरासर प्रश्न सोधिएको थियो । त्यसपछि उनले हस्ताक्षर गरेको कपि पछि मात्रै आधिकारिकतामा आधारित प्रतिप्रश्न गरिएको थियो ।

जसका कारण एक घण्टामै ५ वटा प्रश्न सोधिएको विश्कर्माले बताए । आज कार्यव्यवस्था परामर्श समिति र संसद बैठक भएकोले समितिको बैठक छोटो भएको उनले बताए ।