काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा अनियमितता छानबिन समितिले पेस गरेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै शुक्रबार ज्ञापन पत्र बुझाएका छन् ।
विद्यार्थी संगठन र विश्वविद्यालयबीच देखिएको विवाद तत्काल बन्द गरेर विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन तथा परीक्षामा देखिएको अनियमितता तत्काल समाधान गर्दै अनियमितता गर्नेलाई कारबाही गर्न र अनियमितता छानबिन समितिले पेस गरेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालयमा गत सेमेस्टरमा बि.बि.ए. को प्रश्नपत्रमा गम्भीर त्रुटि भएको र सोको सत्य तथ्य छानबिन गर्न विश्वविद्यालय प्रशासनले छानबिन समिति गठन गरे पनि सो समितिको प्रतिवेदन सार्वजनिक नगरेको र अनियमितता गर्नेलाई कारबाही पनि नभएको भन्दै राप्रविसंले आपत्ति जनाएको छ । त्यसैगरि विश्वबिधालयमा भइरहेको राजनैतिक धरपकड र आन्दोलनले शैक्षिक कार्यक्रम अस्तब्यस्त भएको भन्दै तत्काल यसको दिर्घकालिन समाधान गर्न र त्रिभुवन विश्वविद्यालयलाई राजनैतिक भर्ति केन्द्रको अखडा नबनाउन राप्रविसंले त्रि.वि. प्रशासन तथा सरकारसँग माग गरेको छ ।
राष्ट्रको समग्र शैक्षिक र विद्यार्थीहरुको भविष्यसँग जोडिएको त्रिभुवन विश्वविद्यालय आज यसरी अस्तव्यस्त हुनु विद्यार्थीहरुको अपमान मात्र नभइ समग्र शैक्षिक प्रणालीमाथिको प्राहार हो, यस्तो प्रवृत्ति तत्काल बन्द नगरे राप्रविसं कडा आन्दोलनमा उत्रने राप्रबिसंका त्रि.वि. संयोजक मनिश सर्माले जनाए ।