• बैशाख २६ २०८३, शनिबार

मंसीर ४ मा हुने चुनावमा रेखा थापाको नाम मोरङ–३ बाट सिफारिस

भाद्र १४ २०७९, मंगलवार

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनाउन राप्रपाले अभिनेत्री रेखा थापाको नाम सिफारिस गरेको छ । नाम सिफारिस भएपछि थापाले चुनावी अभियानसमेत सुरु गरेकी छन् ।

आज मोरङको कानेपोखरीमा आयोजित सभामा बोल्दै थापाले चुनावी अभियानमा होमिन कार्यकर्तालाई आह्वान गरेकी छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ थापाको नाम सिफारिस भएको राप्रपा बेलबारीका अध्यक्ष नगेन्द्र कार्कीले बताएका छन् । उनका अनुसार प्रत्यक्षतर्फ थापासँगै अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ ।

अभिनेत्री थापा मोरङको सुन्दरहरैंचा निवासी हुन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिका पर्दछन् । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका भानुभक्त ढकाल विजयी बनेका थिए । कांग्रेसका सुनील शर्मा उनीसँग पराजित बनेका थिए ।

प्रदेशसभातर्फ मोरङ ३ क मा हरेन्द्रमान खत्री र ‘ख’ मा पर्शुराम सुवेदी, गोविन्द नेपाल र रमेश रिजालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ राप्रपाले नगेन्द्र कार्की, राजेन्द्रप्रसाद ढकाल लगायतको नाम सिफारिस गरेको छ ।