• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपतिद्धारा फिर्ता गरिएको नागरिकता विधेयकमाथि  संसदीय समितिमा छलफल गरिने

भाद्र १२ २०७९, आईतवार

काठमाडौं।राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने मन्त्री खाणको प्रस्ताव स्वीकृत भएको हो । संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।

गत भदौ २ गते बसेको प्रतिनिधिसभाको बैठकले फेरि सो विधेयक हुबहु पारित गरेको थियो । अब यो विधेयकमाथि राष्ट्रियसभा अन्तरगत रहेको संसदीय समितिमा छलफलको प्रक्रिया अघि बढ्नेछ । राष्ट्रियसभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ ।