काठमाडौं । चार जना पूर्वप्रधानमन्त्री मिलेर एउटा छुट्टै कम्युनिस्ट पार्टी निर्माण गर्ने रणनीति तय भएको छ ।
आसन्न संघ र प्रदेशसभाको निर्वाचन पश्चात् पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई मिलेर छुट्टै पार्टी निर्माण गर्ने रणनीति तय भएको छ ।
चार जना पूर्वप्रधानमन्त्री मिलेर एउटा छुट्टै कम्युनिस्ट पार्टी निर्माण गर्ने तयारीमा रहेका उनीहरू आन्तरिक गृहकार्यमै छन् । तर, मंसिर ४ मा हुने संघ र प्रदेशसभाको निर्वाचन अघि पार्टी निर्माण कार्य सम्भव नभएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
महराले भने– ‘नेकपा (एमाले)बाट विभाजित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराई निर्वाचन अगावै पार्टी एकता गर्न तयार नभएकाले निर्वाचन पश्चात् नै पार्टी एकता गरी एउटा छुट्टै पार्टी निर्माण हुन्छ । यसका लागि नेताहरूसँग सघन छलफल भइरहेको छ । माओवादी केन्द्र बाहेक अन्य पार्टीका शीर्ष नेताहरू पार्टी एकताका लागि अझै तयार नभएकाले निर्वाचन लगत्तै नयाँ पार्टी निर्माण प्रक्रियाको थालनी हुन्छ ।’
‘नयाँ कम्युनिस्ट पार्टी निर्माणमा माओवादी केन्द्र नेतृत्व गर्न तयार छ । प्रतिगमनको मतियार नेकपा (एमाले) बाहेक अन्य कम्युनिस्ट पार्टीहरू एकढिक्का भएर नयाँ पार्टी निर्माण गर्नु आजको विकल्प हो । त्यसका लागि नेतृत्व तहमा रहेका शीर्ष नेतासँग छलफल जारी नै छ । निर्वाचन हुनुभन्दा पहिले नै पार्टी एकता गर्ने, नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्न खोजिए पनि केही नेतृत्व तयार नभएकाले निर्वाचन पछि नै एकता हुन्छ र नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत बताउँछन् ।’
त्यस्तै माओवादी केन्द्रका अर्का नेता हरिबोल गजुरेल भन्छन्– ‘नयाँ पार्टी निर्माणको कार्यदिशा तय भए पनि यसबारे थप छलफल भइरहेको छ, दलका शीर्ष नेताहरू यस विषयप्रति गम्भीर हुनुहुन्छ । उहाँहरूलगायत हामी पनि यतिबेला चुनावमा केन्द्रित भएकोले छलफललाई तीव्रता दिइएको छैन । निर्वाचन पश्चात् पार्टी एकताको विषयले प्रवेश अवश्य नै पाउने छ ।’
पूर्वमन्त्री तथा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले एमाले बाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी एकता हुने कुरा केही समयअघि चर्चामा आए पनि अहिले यो विषयले खासै प्राथमिकता नपाएको बताउँछिन् । यतिबेला पार्टी एकताभन्दा पनि निर्वाचन नै मुख्य प्राथमिकताको विषय भएकोले फाट्टफुट्ट छलफल नचल्ने होइन, तर गम्भीर छलफल भएको छैन । निर्वाचन लगत्तै यस बारेमा हामी सबै मिलेर सघन छलफल गर्छौँ ।
त्यसैगरी नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादवका अनुसार– ‘पार्टी एकता निर्वाचन अगावै सम्भव छैन, किनकि हामी निर्वाचनको मुखमा छोँ । निर्वाचनलाई कसरी सफल बनाउने भन्ने हाम्रो पहिलो प्राथमिकता हो । अर्को कुरा हामी जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित छौँ । हाम्रो हाम्रो पार्टीको आकारलाई थप फराकिलो बनाउनु नै हाम्रो मुल उद्देश्य हो । त्यसैले निर्वाचन अघि पार्टी एकता सम्भव छैन ।’
पार्टी एकताको रणनीतिले ओलीको टाउको दुखाइ
विगत दुई/तीन महिनायता चार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाल मिलेर नयाँ पार्टी बनाउने रणनीति तय भइसकेको छ । यसका लागि बेलाबखत उनीहरू भेटवार्ता, छलफल गर्दै आएका छन् ।
पार्टी फुटभन्दा पनि जुटमा केन्द्रित रहेका पूर्वप्रधानमन्त्रीहरू यतिबेला निर्वाचन केन्द्रित छन् । निर्वाचन सकिए लगत्तै यस विषलाई प्राथमिकता दिने बताइएको छ । उनीहरू माथतका नेताहरूले पनि निर्वाचन पश्चात् नै पार्टी एकताको कोर्श अगाडि बढ्ने बताएका छन् ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको विषयलाई लिएर प्रायः बोल्दैनन् । किनकि उनकै कारण देशको ठूलो दल र बहुमतसिद्ध सरकार तीन वर्षभन्दा बढी टिक्न सकेन् । त्यतिमात्रै होइन, एमाले विभाजनको सिकार बन्यो । त्यसैले उनी एकताको नाम लिन त के सुन्न पनि चाहादैनन् ।
तथापि माओवादी केन्द्र, एकीकृत समावदी र समाजवादी पार्टीबीचको एकताको रणनीतिले ओलीको टाउको दुखाइको विषय बन्दै आएको छ । उनले यी चार पूर्वप्रधानमन्त्रीको एकताको विषयलाई लिएर बारम्बार नक्कली पिरतीको संज्ञा दिँदै आएका छन् । उनको अभिव्यक्तिअनुसार टाउको दुखाइ भएको बुझ्न सकिन्छ ।
प्रधानमन्त्री देउवा सशंकीत
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार पूर्वप्रधानमन्त्रीको पार्टी एकताको रणनीतिले सशंकीत बन्दै आएका छन् । देउवा एमाले, माओवादी केन्द्रबाट बारम्बार धोका पाएकाले यतिबेला पनि धोका हुनसक्छ भन्दै सशंकीत बनेको बुझिन्छ ।
कांग्रेसको नेतृत्वमा बनेको सत्ता गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिए देउवा सरकार जतिबेला पनि ढल्नसक्छ । यसर्थ पुनः यहीँ समस्या दोहोरिन्छ कि भन्नेमा पनि सशंकीत छन् । त्यस्तै उनी सशंकीत हुनुको अर्को कारण हो, निर्वाचन अगावै माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादीबीच चुनावी तालमेल । उनीहरूले चुनावी तालमेल गरेमा कांग्रेस एक्लै भिड्नुपर्ने हुन्छ । त्यसो हुँदा उसको मतपरिणाममा स्वतः प्रभाव पर्ने निश्चित छ ।
कांग्रेसको साथ छोडेर प्रचण्ड, नेपाल र भट्टराईले संयुक्त चुनावी तालमेल गरे उनीह्रू सत्ताबाट बाहिरिने सम्भावना प्रवल हुन्छ । यसर्थ प्रधानमन्त्री देउवा सशंकीत बन्दै आएका छन् ।
पार्टी एकताबारे विश्लेषक के भन्छन् ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकमाुर नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी एकता गर्ने विषय सामान्य नभएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।
उनी डा.बाबुराममाथि टिप्पणी गर्दै भन्छन्, उनीमा वैकल्पिक पार्टीको भोक कायमै भएकाले तत्कालै अन्य पार्टीसँग एकता गर्लान् जस्तो लाग्दैन । नेपाली राजनीतिमा निकै महत्वकांक्षी बाबुरामको राजनीतिक यात्रामा बेलाबेला अल्पविराम लाग्दै आएको छ । तर, पनि उनी वैकल्पिक राजनीतिको भोक बोकेर भौतारिँदै आएका छन् । यसर्थ उनीले तत्कालै अन्य पार्टीसँग एकता गर्नेमा शंका छ ।
भट्टराई बोहक अन्य नेताहरूले पार्टी एकता गर्ने कुरामा दुविधा छैन । ढिलो चाँडो होला, तर एकता हुन्छ भन्छन्, विश्लेषक श्याम श्रेष्ठ ।