काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग गरेको परामर्शलाई सत्ता गठबन्धनले अस्वभाविक भनेको छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीका पछिल्ला गतिविधिबारे समीक्षा भएको थियो।
त्यस बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीको गतिविधिबारे चासो व्यक्त गरेका थिए। यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको कदम स्वभाविक नभएको बताएका थिए।
बैठकमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रपतिले निरन्तर गरिरहेको परामर्शबारे सत्ता गठबन्धनका अन्य नेताहरुको धारणा बुझेका थिए।‘राष्ट्रपतिले नागरिकता विधेयक पनि फिर्ता गर्नुभयो। उहाँ निरन्तर परामर्शमा हुनुहुन्छ उहाँको मनसाय बुझ्न सकिएन,’ प्रधानमन्त्री देउवाले बैठकमा भनेका थिए।
यस विषयलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वभाविक रहेको बताए। ‘सेना र कानुनविद्हरुसँगको परामर्श र नागरकिता विधेयकबारे उहाँको कदम स्वभाविक छैन,’प्रचण्डको भनाई थियो।
राष्ट्रपति भण्डारीले बुधबार सेनाका बहालवाला र अवकास प्राप्त अधिकारीहरुसँग छलफल गरेकी थिइन्।
यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका थिए।‘संविधानले कसैलाई पनि नागरिकताबाट बञ्चित नगराउने भनेको छ। विगतमा गएको अध्यादेश स्वीकृत गर्ने र अहिले प्रतिनिधिसभाले पठाएको विधेयक अस्वीकार गरेर उहाँले असंवैधानिक काम गर्नुभएको छ,’ उनले भने।
बैठकमा एकीकृत समाजवादीले सेनासँगको परामर्शलाई स्वभाविक मान्न नसकिने धारणा व्यक्त गरेको छ।‘सेनासँग उहाँले परामर्श गर्नुपर्ने कुनै कारण थिएन। उहाँको काम शंकास्पद छ भन्ने धारणा समाजवादीले राखेको छ,’ बैठकमा सहभागी एक नेताले भने।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको पछिल्लो गतिविधि शंकास्पद रहेको बताएका छन्। पार्टी स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। उनले फिर्ता गरेपछि सरकारले जस्ताको त्यस्तै विधेयक पठाइने निर्णय गरेको थियो।