काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा आज केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनताको अपेक्षाका साथै जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताए ।
नेता नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन निर्देशन दिँदै वाम शक्तिको एकताबाट सामाजिक रुपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा विभागका कामको संक्षिप्त रिपोटिङसहित चुनावी घोषणापत्रका लागि सुझाव सङ्कलन गरिएको थियो ।