काठमाडौं । नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतमा अनिश्चित कालसम्मका लागि लकडाउन गरिएको छ । तिब्बतले अनिश्चितकालीन बन्द गर्दा त्यसको असर नेपाली सीमा नाकामा परेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि तिब्बती अधिकारीले अनिश्चित कालका लागि लकडाउन गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । नाका बन्द हुँदा नेपालमा दशैँका लागि लक्षित तयारी सामग्री, स्याउ, ससून, अन्य खाद्यान्न, विद्युतीय गाडी आदि जस्ता सामग्री चीनतर्फ तिब्बतका विभिन्न स्थानमा अलपत्र अवस्थामा छन्।
महावाणिज्य दूतावासले सोमबार परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा तिब्बतका ल्हासा लगायत विभिन्न स्थानमा लकडाउन जारी रहेको उल्लेख छ। ‘हरेक तीन दिनमा लकडाउन थपिँदै लगिएकोमा हाल अनिश्चित समयसम्मको लागि लकडाउन गरेको सूचना प्राप्त भएको छ’ पत्रमा भनिएको छ। चिनियाँ अधिकारीले दश दिनदेखि तिब्बतमा लकडाउन गरिरहेका छन् ।