• बैशाख २६ २०८३, शनिबार

चुनावका लागि एउटा दलबाट मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर दिइने

भाद्र ६ २०७९, सोमबार

काठमाडाैं ।  निर्वाचन आयोगले चुनावका लागि  एउटा  राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने जनाएको छ ।

निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग आज साेमवार भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रस्तावित आचारसंहितामा सवारी प्रयोग गर्दा अपनाउनुपर्ने आचरणअन्तर्गत हेलिकप्टर प्रयोग गर्न पाउनेबारे उल्लेख गरिएकाे छ ।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने भनिएको छ ।

तर कुनै पनि मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई मुख्य प्रचारकको रूपमा अनुमति नदिइने आचारसंहितामा उल्लेख छ भने  त्यस्ता प्रचारकमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकामा रहेका पदाधिकारी भने रहन नपाउने  उल्लेख गरेको छ ।

प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलको मिश्रित सल्लाह, सुझाव आएको जानकारी दिए। उनले आयोगले राजनीतिक दलका सबै सुझावलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताए ।