काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसंग नेपाल भ्रमणमा रहेको बङ्गलादेशी प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
आज मन्त्री मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन् ।
बुधबारदेखि काठमाडौंमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसंग भेटघाटका क्रममा मन्त्री भुसालले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचारविमर्श हुने विश्वाससमेत व्यक्त गरिन् ।
बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रतिनिधिको सहभागिता थियो ।