काठमाडौं । निर्वाचन आयोगले चुनावी सामग्री छपाइका लागि छापाखानाहरूलाई सूचीकृत हुन गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले आपत्ति जनाएको छ ।
महासंघले आम छापाखाना व्यवसायीहरूको पेसामाथि आघात पुगेको जनाउदै सोमबार प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
‘नेपाल सरकारको सबै निकायमा दर्ता गरी राज्यलाई तिर्नुपर्ने सबै दायित्व तिरेका, अति आवश्यक छपाइ सामग्रीहरू तयार गर्न सक्ने क्षमता राखेका छापाखानाहरूसमेत शर्त राखी प्रकाशित गरिएको सूचनाको कारण सूचीकृत हुनबाट वञ्चित भएकाले आम छापाखाना व्यवसायीहरूको पेसामाथि नै आघात पुगेको देखिन्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘नेपाल संघीय गणतान्त्रिक लोकतन्त्रमा गइसकेको र सो अनुरुप तीन तहका सरकार समेत बनिसकेको अवस्थामा पनि सबै कामको व्यवस्था केन्द्रिकृत हुनुले अझै पनि राज्य संघीयताको मूल मर्मअनुसारको नीति अवलम्बन गर्न नसकेको हो कि भन्ने हाम्रो बुझाइ रहेको छ ।’
निर्वाचन आयोगले भदौ १ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने सामग्री छपाइ गर्ने छापाखानाहरू सूचीकृत हुन आह्वान गरेको थियो ।