काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जिली व्यक्त गर्दै आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शोक मनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो।
नेपाली कांग्रेसको आकस्मिक रुपमा बसेको कार्यसमितिको बैठकले भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय लिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै शोक श्रद्धाञ्जली बाहेकका पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ।
सोमबार केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, १३ औँ दिन भदौ १६ गतेसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्न निर्णय पनि गरिएको छ। त्यस्तै भदौ १६ गते नै सबै जिल्लामा शोक सभा गर्ने मुख्यसचिव पौडेलले जानकारी दिए।