• जेष्ठ ३ २०८३, आईतवार

कुटपिट गरी मारिएको आफन्तको आरोप, कर्मचारी भन्छन्,‘आफैले पासो लगाएर मरेका हुन्’

भाद्र ३ २०७९, शुक्रबार

डिभिजन वन कार्यालय सुर्खेतमा ज्यान गुमाएका धनीराम लामिछानेका आफन्तले चार जनाविरुद्व किटानी जाहेरी दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले दिएको जानकारी अनुसार सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियूसराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिइएको छ ।

मृतक लामिछाने वन सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । वीरेन्द्रनगर–१३, भूतचोकका ५८ वर्षे लामिछानेको वन कार्यालय पुर्याएपछि मृत्यु भएको बताइन्छ । उनको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै किटानी जाहेरी दिएका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा टाँचा लगाइएको (नम्बरिङ गरिएको) रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो । त्यसपछि धनीरामलाई पनि पक्राउ गरिएको बताइन्छ ।

‘आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा र जमानीमा छाड्ने कुरा थियो । आरोपित व्यक्ति घरमा भएको सूचना आएपछि कर्मचारीहरुले उनलाई पक्राउ गरेर ल्याइएको हो,’ वीरेन्द्रनगर डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भने ।

तर लामिछाने कार्यालयको हिरासत कक्षमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । लामिछानेको आफन्तले पक्राउपछि गरिएको कुटपिटबाट मृत्यु भएको र कर्मचारीले आफूहरु जोगिन शवलाई कोठामा झुण्ड्याएको आरोप लगाएका छन् । ‘कार्यालयबाट खटिई गएको टोलीले पक्राउ पूर्जी बिना नियन्त्रणमा लिएको थियो ।

महिलालाई पक्राउ गर्दा पनि कानुनी प्रक्रिया नपुर्याई कार्यालय पुर्र्याइएको उनीहरुको आरोप छ । मृतकका आफन्तले भने, ‘पक्राउ परिसकेका व्यक्तिलाई मेडिकल, खानतलासी लगायत हिरासत व्यवस्थापन सम्बन्धी कुनै पनि प्रक्रिया अपनाएको पाइएन ।’