काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्यायी रुपमा सम्पन्न गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग र सहजीकरण गर्न आज उक्त निर्देशन दिएको हो ।
निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सदरमुकामस्थित उपयुक्तस्थलमा निर्वाचन अधिकृतको कार्यालय राख्ने स्थान तथा भवनको यकिन गर्न पनि आयोगले निर्देशन गरेको छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सम्बन्धित निर्वाचन क्षेत्रको केन्द्रमा पर्ने एवं भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुने गरी कार्यालय राख्न निर्देशन दिएको हो ।
आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सरकारी भवन, फर्निचर, इलेक्ट्रोनिक सामान, सवारी साधनलगायतका भौतिक सामग्रीको व्यवस्थापन गरी तयार अवस्थामा राख्न र आयोगबाट कायम भएका मतदानस्थल तथा मतदान केन्द्रमा रहेको संरचनाको संरक्षण, मर्मत एवं खानेपानी, शौचालय, विद्युत्, सडक, पुल कम्पाउण्ड तारबार तथा सञ्चारजस्ता सुविधाको आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।