काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएकोप्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका छन् ।
गत साउन १६ गते जिल्ला अदालत ललितपुरले विप्लवसहित २८ जना शीर्ष नेताहरु माथि ३५ दिने पक्राउ पूर्जी जारी गरेको थियो ।
त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पार्टीका गुल्मी जिल्लाका कार्यकर्ताहरूले पक्राउ पूर्जी फिर्ताको माग गरेका हुन् ।
यसअघि २०७७ साल फागुन २१ गते उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध सरकारले फिर्ता गरेको थियो । तर फेरि पक्राउ पुर्जी जारी गरिएकोप्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका हुन् ।
पार्टीका गुल्मी जिल्ला सेक्रेटरी सुमन नेतृत्वका कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले आफूले सम्वन्धित निकायमा सन्देश पुर्याउने बताए ।