• जेष्ठ २ २०८३, शनिबार

२९ तोला सुन लुट्ने पूर्वलडाकू र पूर्वसैनिक पक्राऊ

श्रावण ३१ २०७९, मंगलवार

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-६ स्थित नारायण बस्नेतको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे ।
‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख ५० हजार नगद लुटेर फरार भए । सो लुटमा संलग्न मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३८ वर्षका रामसिंह तामाङ र मकवानपुर घर भएका ३८ वर्षीय दिलबहादुर सिङ्तानलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । चन्द्रागिरि नगरपालिका-३ घर भएका रोशन तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । लुटमा संलग्न ३ जना अझै फरार छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको मध्येका मेलम्ची नगरपालिका-७ तालामाराङका रामसिंह तामाङ पूर्वसैनिक हुन् । उनी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १० वर्ष जेल बसेर छुटेका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनी २०६४ देखि २०७४ सम्म जेल बसेको देखिन्छ ।

कीर्तिपुर लुटमा संलग्न अर्का आरोपी मकवानपुरका दिलबहादुर सिङ्तान पूर्व लडाकु हुन् । जनयुद्धमा सहभागी सिङ्तान जोरपाटीमा बस्छन् । जनयुद्धपछि डाँका गर्न थालेका सिङ्तान खुनडाँका मुद्दामा ९ वर्ष जेल बसेर निस्केका हुन् । ललितपुरको झरुवारासीमा श्रवण खड्कालाई हत्या गरेर लुटेका मुद्दामा उनी जेल परेका हुन् ।

जेलमा चिनजानपछि बन्यो ‘डकैत समूह’

कीर्तिपुर लुटमा संलग्न ६ जना थिए । तर, सो समूहमा १० जना लुटेरा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । सो समूहमा संलग्न बाबुलाल थिङ ‘सुशील’ लाई पनि प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया घर भएर जोरपाटी बस्ने ३५ वर्षीय बाबुलाल काठमाडौँको शंखरापुरमा भएको लुटमा संलग्न थिए ।

असार १२ मा शंखरापुर-९ स्थित सुशीला थापाको घरमा धारिलो हतियार देखाएर बाबुलाल सहितको समूहले लुटेका थिए । बाबुलाल थिङलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त बौद्धमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराले बताए । उनले भने-‘बाबुलाल कीर्तिपुरको घटनामा संलग्न देखिएनन् ।’

सो समूहले असार २० मा काभ्रेको बनेपा स्थित सलामसिंह लामाको घरमा लुटेका थिए । सलामसिंहको घरमा लुटेको आरोपमा मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मिलनलाई इलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान गरिरहेको छ ।

उपत्यकाको खतरनाक ‘लुटेरा समूह’ भनेर चिनिएका १० जना मध्ये ५ जना पक्राउ परेका छन् । ५ जना फरार छन् । अधिकांश लुटेराहरूको चिनजान जेलमा भएको थियो । नख्खु कारागारमा बस्दा उनीहरूको बिचमा चिनजान भएर समूह बनाएको अनुसन्धानमा संलग्न डिएसपी किरण न्यौपानेले बताए । डिएसपी न्यौपाने भन्छन्-‘समूहका १० जनामध्ये ७ जना पटके आरोपी छन्, ३ जना मात्रै नयाँ सदस्य थपिएको देखिन्छ ।’

सो समूहले शंखरापुर नगरपालिका-९ स्थित खुलालटारमा पनि लुटेको अनुसन्धानबाट थाहा भएको छ । असार ६ मा खुलालटार स्थित लालबहादुर थापाको घरमा पसेर हतियार देखाएर उनीहरूले नगद र सुन लुटेर भागेको घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।