• जेष्ठ २ २०८३, शनिबार

समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

श्रावण ३० २०७९, सोमबार

काठमाडौं  । नेपाल पत्रकार महासंघले हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको घटनाप्रति आपत्ति जनाएको छ।

महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले सोमबार विज्ञप्ति जारी गर्दै समाचारलाई लिएर सम्पादक मोती खनाललाई थप सूचना दिने भनी बोलाएर समाचारको स्रोतबारे जानकारी नदिए या समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

२०७९ साउन २६ गते सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बारेमा प्रकाशित समाचारलाई लिएर सम्पादक खनाललाई आफूलाई मेयरका भाइ बताउने रामकुमार थापासहित अन्य तीन जना व्यक्तिले थप सूचना दिने भनी बोलाएका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्क्याउने काम हुनु प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ ।

महासंघले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र पत्रकारलाई निर्बाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।