काठमाडौं । प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी यसअघि पाँच पटक सांसद बनिसकेका व्यक्ति हुन् । यसो त उनी चार पटक मन्त्री समेत भइसकेका छन् ।
उनै त्रिपाठी सोमबार ६ पटक सांसद बन्ने योजनाका साथ नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका छन् ।
अध्यक्ष ओली निवास बालकोटमा उनी फेरि सूर्य चिह्नबाटै आफ्नो पार्टीले चुनाव लड्ने प्रस्ताव बोकेर पुगेका हुन् । यसअघि २०७४ सालको चुनावमा पनि त्रिपाठी एमाले सूर्य चिह्न लिएर निर्वाचित पाँचौँ पटक निर्वाचित भएका थिए ।
अहिले फेरि उनी छैटौँ पटक संसदमा प्रवेश गर्ने लक्ष्यका साथ ओलीकोमा पुगेका हुन् । यद्यपि त्रिपाठीसँगको भेटमा ओलीले सूर्य चुनाव चिह्न दिने विषयमा केही जवाफ नदिएको बताइएको छ ।
ओली आफ्नो पार्टीभित्रको अवस्थालाई हेरेर मात्रै त्रिपाठी समूहलाई चुनाव चिह्न दिने वा नदिने निर्णय लिने तयारीमा रहेको उनको सचिवालयले बतायो ।
सूर्य चिह्न लिएर निर्वाचित भएपछि ओलीले त्रिपाठीलाई एमालेमा भित्र्याउन निकै जोडबल समेत गरेका थिए । यतिसम्मकी ओलीकै क्याविनेटमा उनी स्वास्थ्य मन्त्री समेत थिए । तर, त्रिपाठी एमालेमा जान तयार भएनन् । अन्ततः गत मंसिर २८ गते आफ्नै नेतृत्वमा पार्टी गठन गर्न पुगे ।
आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा भएपछि भने त्रिपाठीले एमालेकै साथ खोजेका हुन् ।
भेटपछि त्रिपाठीले ओलीसँगको भेटमा चुनावी तालमेलका विषयमा छलफल गरेको बताए । यस्तै भेटका क्रममा नागरिकता विधेयकका विषयमा पनि कुराकानी भएको उनको भनाई छ ।