• बैशाख २६ २०८३, शनिबार

पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जानेछौं : पर्यटनमन्त्री श्रेष्ठ

श्रावण २९ २०७९, आईतवार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले आरोहणका लागि हाल खुला गरिएकाबाहेक थप हिमाल तथा चुलीहरु खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपालका हिमाल तथा चुलीहरु विदेशी पर्यटक आकर्षक गर्ने महत्वपूर्ण माध्यम भएकाले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन विदेशी मुद्रा आर्जनका साथै रोजगार सिर्जना गर्ने माध्यम बनेको बताए ।  उनले पर्वतारोहणको विकास तथा प्रवर्द्धनमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताए ।

पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।