• जेष्ठ २ २०८३, शनिबार

मिटरब्याजी पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न गृहको अनुरोध

श्रावण २८ २०७९, शनिबार

काठमडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो । पीडितहरूलाई आ–आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो ।

शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णय गरी यस अपराधलाई नियन्त्रण गर्न सक्ने उपायहरू सिफारिस गर्न डा. भीष्मकुमार भूसालको संयोजकत्वमा कार्यदल बनेको थियो ।

सो कार्यदल बनेसँगै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिइरहेका नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाका पीडितहरूसँग पनि छलफल गरेको मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भएको थियो ।

यस्तै नवलपरासी पश्चिममा मात्रै नभई तराईका अधिकांश जिल्लाहरूमा मिटरब्याजबाट पीडित भएकाहरू हुनसक्ने भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो ।

‘देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरूद्ध आ-आफ्नो जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।