काठमाडौं । आसन्न संघीय र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँगको सहकार्यको लागि कसरत थालेका छन् । शुक्रबार मात्रै एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
काँग्रेस महाधिवेशनमा राप्रपा अध्यक्ष लिङ्देनलाई भर्खर जन्मेको बाच्छो हिड्न जान्दैन भनेर कटाक्ष गरेका थिए । कटाक्ष गरेको पाँच महिनापछि ३० वैशाख २०७९ मा भएको स्थानीय तहको चुनावमा लिङ्देनले एमाले अध्यक्ष ओली हराउने गरी झापाको दमक नगरपालिकामा ६ दलीय गठबन्धन बनाए । गठन्धनकै बलमा झापाको दमकमा एमालेलाई राप्रपाले पछारेको थियो ।
ओलीको भनाई मनमा लिएका लिङ्देनले पाँच महिनापछि गठबन्धनमा चुनावमा जाने निर्णयमा पुगेका थिए। पाँच महिनापछि त्यही भर्खर जन्मेको ‘बाच्छो’ ले आफ्नै गृह जिल्ला झापामा लात्ती हान्दा केपी शर्मा ओलीको पार्टी पछारिन पुग्यो । जसले केही हदसम्म लिङ्देनलाई सन्तुष्टि मिल्यो । लिङ्देन जसरी पनि एमाले अध्यक्ष ओलीलाई बाच्छोको तागत देखाउन चाहन्थे । स्थानीय तहको निर्वाचनको तागतको बल देखाउँदै पुन एक पटक राप्रपा अध्यक्ष लिङ्देन एमालेसँग सहकार्य गर्न सकारात्मक देखिएका छन् । शुक्रबार बालकोटमा भएको दुई नेताबीचको भेटले आउँदो चुनावमा सहकार्य हुन सक्ने संकेत देखिएको छ ।
स्रोतका अनुसार झापामा एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष लिङ्देनसँग सहकार्य गरेर दुबै जना चुनाव जित्ने तयारीमा जुटेका छन् । विगतमा ओली आफैले कटाक्ष गरेको ‘बाच्छो’ पार्टी सँग सहकार्य गर्न तम्तयार छन् ।
पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाडको तयारी गरिरहदाँ एमाले र राप्रपा पनि सहकार्यका लागि जुट्ने संकेत देखिएको छ । ०७४ मा वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेको थियो। उनी झापा–३ बाट निर्वाचित भएका थिए।
राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले भने चुनावी सरगर्मी बढेको बेलामा नेताहरुबीच भएको भेटघाट कुनै नौलो नभएको बताए।