काठमाडौं । ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो ।
प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन विकको हत्या र हत्यापछि बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ ।
नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ ।
वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ ।
हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको रातोपाटीमा समाचार छापिएको छ ।