• जेष्ठ २ २०८३, शनिबार

मगर समुदायबाट विशिष्ट ओहोदामा पुगेकाहरुलाई मगर संघको सम्मान

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । नेपाल मगर संघले नेपाल सरकार र कानुन व्यवसायको विशिष्ट ओहोदामा पुग्न सफल भएका मगर समुदायका व्यक्तित्वहरुलाई  सम्मान गरेको छ । संघको केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो ।

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्रबहादुर पुनमगरले नेपाल सरकारको विभिन्न निकाय र कानुन व्यवसायको विशिष्ट ओहोदामा पुगेका व्यक्तित्वहरुलाई प्रमाणपत्र सहित खादा लगाएर बधाई दिँदै सम्मान गरेका हुन् ।

२०७९ सालमा बढुवा भई वरिष्ठ अधिवक्तामा नियुक्त भएका अधिवक्ताद्वय गौबहादुर आलेमगर र सुरेन्द्र थापामगर, सदस्य सचिवमा कार्यरत महेन्द्र थापामगर (तारागाउँ विकास समिति), प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका ओम रानामगर, प्रहरी वरिष्ठ उपरीक्षकमा (प्राविधिक) तर्फका सरोज रानामगर, प्रमुख सेनानी (प्राविधिक)मा तारा थापामगर, उपसचिव जनक थापामगर र प्रहरी उपरिक्षक विरबहादुर बुढामगरलाई संघले सम्मान गरेको हो ।

उक्त बधाई तथा सम्मान कार्यक्रममा संघका कार्यसमिति तथा भातृ संस्थाहरुका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासचिव टेक नामजालीले गरेका थिए ।