काठमाडौं । नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटीभी फुटेजको विवरण संसदीय छानविन विशेष समितिलाई बुझाएको छ ।
प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुने सदस्य सीताराम महतोले जानकारी दिए ।
‘फरेन्सिक ल्याबले आज विवरण दिएको छ अब भोलि बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुनेछ,’ उनले भने । बजेट निर्माण प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा निक्र्यौलका लागि मन्त्रालयको सिसिटिभी फुटेज छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो ।
सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो । यस विषयमा समितिले पूर्व अर्थमन्त्री शर्माको बयान लिँदा आफू जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भनेका थिए ।
मन्त्रालयको सिसिटिभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निक्र्यौलको सम्भावना नरहेको देखेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको छ । आइतबार बसेको समिति बैठकले पूर्वी र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो ।
शर्मामाथि आर्थिक वर्ष २०७९र८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिमार्फत् राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ । त्यस प्रकरणमा छानविनका लागि संसदीय विशेष समिति गठन भएको हो ।
समितिलाई पहिलो पटक अनुसन्धानका निम्ति १० दिनको समय थियो । त्यसअवधिमा अनुसन्धान प्रक्रिया नटुंगिएपछि ५ साउनमा समितिको म्याद थप गरिएको थियो । थपिएको साता दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी रहेको छ ।