काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वाम पार्टीहरूसँग एकता नगर्ने पूर्वपरराष्ट्रमन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । आज (शनिबार) प्रेस चौतारी रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले कांग्रेसले आफ्नो बहुमत ल्याउने सर्तमा गठबन्धन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य साझेदार दलहरूले वाम गठबन्धनको फन्डा चलाएको अरोप लगाए । उनले भने, ‘कांग्रेसको निर्णयपछि गठबन्धनका नेताहरूको पसिना आएको छ,’ ‘तर, एमाले एक्लै र आफ्नै खुट्टाको बलमा चुनाव लड्न सक्ने क्षमता राख्छ ।’
‘एमाले सत्ता प्राप्ति गर्नकै लागि जोसँग पनि लहसिनु पर्छ भन्ने मान्यताबाट टाढै छ,’ उनले भने, ‘तर, देश र जनताका लागि हित सोचेर गठबन्धन छोडेर आउनेहरुका लागि चुनावी तालमेल वा सहकार्यको ढोका खुला छ ।’ तथापि एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेन्डा मिल्नेहरूसँग मात्र चुनावी तालमेल गर्ने ज्ञवालीले दाबी गरे ।
यद्यपि सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम पार्टीहरू एकताको सूत्रमा बाँधिनुपर्ने बताउँदै आएका छन् । वाम एकताको कसरतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बढी सक्रिय रहेको उनीहरूनिकट स्रोत बताउँछ ।
लोकतान्त्रिक पार्टीहरूसँग तालमेलभन्दा वाम पार्टीहरूको एकता हुनु निकै सकारात्मक भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत बताउँछन् । उनी भन्छन्, जनताले चाहेको स्थिर राजनीति र विकास कम्युनिस्ट पार्टीबाहेक अन्य पार्टीबाट सम्भव नभएकाले एकता आजको आवश्यकता हो, एकताका लागि देशका सबै कम्युनिस्ट पार्टीहरू एकढिक्का हुनु जरुरी छ । टुटफुट र वैहिरभाव राख्नु कम्युनिस्ट पार्टीहरू नै कमजोर हुनु हो ।’
त्यस्तै पूर्वमन्त्री एवं एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री पनि वाम एकताको पक्षमा सकारात्मक देखिन्छिन् । उनी भन्छिन्, ‘एमाले अध्यक्ष केपी ओलीको पटक–पटकको गल्ती (संसद् विघटन) र पार्टी नेतृत्वकर्ता नै अराजक बन्नुले कम्युनिस्टहरू कांग्रेस र लोकतान्त्रिक शक्तिसँग कमजोर बन्दै गएका छन् । यसको फाइदा उनैलाई पुगेको छ । त्यसलाई निस्तेज पार्नका लागि हाम्रो एकता आजको आवश्यकता हो । तर यो तत्काल असम्भव जस्तै देखिन्छ ।’
‘वाम एकता र वैचारिक विन्दुमा पुग्नका लागि सर्वप्रथम त नेतृत्वकर्ता नै हाबी हुनुपर्छ । यसलाई प्रश्रय दिने कार्य हामीले गर्छौँ नै । आजको मुख्य आवश्यकता फुटभन्दा पनि एकता नै हो । तर, त्यसका लागि एमालेको एकथरी नेतृत्वपंति यतिबेला सक्षम देखिँदैन । उसले एकताको नाम पनि सुन्न चहादैन, भन्छन्,’ एमाले स्थायी समिति सदस्य घनश्याम भुसाल ।
‘एमाले अध्यक्ष केपी शर्मा ओली एकताको नामसमेत सुन्न चहादैनन् । किनकि उनी यसअघि एमाले र माओवादी केन्द्रको एकताप्रति विश्वस्त थिएनन् र छैनन् पनि । यसर्थ तत्काल वाम एकताको सम्भावना देखिँदैन । तर, एमालेभित्र पनि केही नेताहरू अहिले पनि वाम एकताको पक्षमा छन् । यद्यपि मुख्य नेतृत्वकर्ता नै एकताको विपक्षमा उभिएपछि अन्य नेताहरू एकताको पक्षमा उभिनु सकारात्मक भए पनि त्यो तत्काललाई सम्भव नभएको बताउँछन्,’ वाम विश्लेषक श्याम श्रेष्ठ ।
एमालेको संघ र प्रदेश निर्वाचनमा एक्लै बहुमत ल्याउने दम्भ
एमाले २०७४ को संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा देशको ठूलो राजनीतिक दल बनेको थियो । तर, भर्खरै सम्पन्न् स्थानीय तह निर्वाचनमा एमाले दोस्रो ठूलो दल बनेको छ । पहिलो दल भने नेपाली कांग्रेस बनेको छ । एमाले दोस्रो ठूलो दल बने पनि लोकप्रिय भोट ल्याएको छ ।
लोकप्रिय भोटको आधारमा एमालेको आशा जागा नै छ । उसले त्यही आशा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा एक्लै बहुमत ल्याउने दम्भ देखाउँदै आएको छ । एमालेका नेताहरू पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा एक्लै चुनाव लड्ने ल्याकत भएको ठहर गर्छन् । वाम एकता र चुनावी तालमेल बिना नै आफूहरू आगामी निर्वाचनमा बहुमत ल्याउने नेता महेश बस्नेत दाबी गर्छन् ।
उनी भन्छन्, ‘आगामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले संयुक्त चुनावी तालमेल गरे पनि एमाले एक्लैले बहुमत ल्याउँछ । त्यसका लागि पार्टीको रणनीति तय गर्न समय समयमा बैठक बस्ने गरेको छ । यद्यपि आगामी निर्वाचनमा हामी पहिलो पार्टी बन्ने नै हो । पार्टी एकता र चुनावी तालमेल केवल प्रचण्ड नेपालको फन्डामात्रै हुन् ।’
कांग्रेससँग आगामी निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले अलि बढी सिटको डिमाण्ड गर्नका लागि एकताको ढुंग फुकेको नेता बस्नेत बताउँछन् । उनीहरूको फन्डाबाट जोगिन कांग्रेसलाई एमाले नेता बस्नेत आग्रह गर्दछन् ।