• बैशाख २४ २०८३, बिहीबार

माओवादीको नाम फेर्न प्रचण्डलाई बाबुरामको प्रस्ताव

श्रावण ५ २०७९, बिहीबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीबाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफलको शृङ्खला बढ्दै गएको छ । सोही क्रममा भट्टराईले दाहाललाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।

हात्तीवनस्थित दाहालका भान्जाको निवासमा भएको भेटघाटमा बाबुरामले सो प्रस्ताव गरेको स्रोतले जनाएको छ । पूर्व नयाँ शक्तिमा माओवादीबाट गएका नेताहरु बाबुरामलाई माओवादी केन्द्रमै फर्किन दबाब दिइरहेका छन् । नयाँ पार्टी बनाउनुभन्दा माओवादी केन्द्रमै फर्किने र त्यसलाई रुपान्तरण गर्ने दबाब उनीमाथि बढ्न थालेको हो ।

बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार प्रचण्ड र बाबुरामबीच बिहीबारको छलफलमा के विषयमा कुरा भयो भन्ने प्रस्ट हुन बाँकी रहे पनि पहिलादेखि नै बाबुरामले यस प्रकारको प्रस्ताव गर्दै आएका छन् ।

उनले भने, ‘बाबुरामले पार्टीको नाममात्र परिवर्तन होइन, समग्र पार्टीलाई नै रुपान्तर गरेर अगाडि बढौं भनेर दाहालसमक्ष पटकपटक प्रस्ताव गर्नुभएको छ, आज पनि नगरेको होला भन्न सकिँदैन ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलादेखि नै बाबुरामलाई माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएको र जवाफमा बाबुरामले पार्टी रुपान्तरणको प्रस्ताव राख्दै आएको पोखरेलको भनाइ छ ।

माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले बताए । प्रचण्डले यस बारेमा कुनै ठोस प्रतिक्रिया नदिए पनि पार्टीमा छलफल गरेर पुनः बस्ने आश्वासन दिएको बताइएको छ ।

अध्यक्ष प्रचण्डका साथमा रहेका केही नेताले पार्टीको नाम जेसुकै भए पनि त्यसमा कम्युनिस्ट शब्द झुण्डिएकै हुनुपर्ने भन्दै आइरहेका छन् । वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, मातृका यादव, चक्रपाणी खनाल लगायतका नेताहरु पार्टीमा कम्युनिस्ट जोडिएकै हुनुपर्ने पक्षमा छन् ।

बाबुरामलाई ल्याउनका लागि प्रचण्ड पार्टीको नाम फेर्न सकारात्मक भए पनि उनकै साथमा रहेका नेताहरु नमान्ने पक्षमा रहेको बुझिएको छ ।

यसअघि अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पटकपटक भेट भई यस विषयमा छलफल गरिसकेका छन् । पार्टी एकता वा पार्टीमै आउन नसकेपछि समाजवादी केन्द्र खोलेर सहकार्य गर्न सकिने प्रस्ताव बाबुराम भट्टराईले राख्दै आएका छन् । प्रचण्डले भने सबै कम्युनिस्ट एक ठाउँमा रहनुपर्छ भन्दै जसपाबाट कारवाही नहुँदै बाबुरामलाई माओवादी केन्द्रमै आउन आग्रह गरिसकेका थिए ।