काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले अमेरिकी सरकारसित हुने भनिएको स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयले पत्राचार रोकेको भन्दै सभामुखमार्फत् पत्राचारका लागि रुलिङ गर्न माग गरे ।
उनले अमेरिकाले घुमाउरोबाट नेपाललाई आइपीएसको अंग बनाउने प्रयत्न गरिरहेको भन्दै यदि नेपाल आइपीएसको अंग बने नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुने बताए ।
‘मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धित मन्त्रालयको हो तर परराष्ट्र मन्त्रालयले निर्णय कार्यान्वयन गरिरहेको छैन’, गुरुङले सभामुखसँग रुलिङ गर्न माग गरे । उनले गम्भीर प्रकारका तयारी भइरहेको भन्ने सञ्चारमाध्यममा आइरहेको भन्दै भने, ‘एसपीपी सम्झौता नहुने भन्ने भइसकेपछि अरु नामहरूबाट, सैन्य सम्झौताको कन्टेन राखेर वर्कआउट गरिरहेको बुझिन्छ ।’
म्युचियन डिफेन्स ट्रिटी र स्ट्राटेजिक डिफेन्स फ्याक्ट भनेर पनि एसपीपीलाई लाद्ने प्रयास भइरहेको गुरुङको भनाइ छ । त्यो नभए सोफाको नामबाट अर्को एग्रिमेन्ट गर्ने प्रयास भइरहेको भन्दै पिस कोअपरेशन एग्रिमेन्ट नाम राख्ने र नेपाललाई सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेकाले यो विषयलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए ।