• बैशाख २४ २०८३, बिहीबार

बाबुरामको नयाँ पार्टीको प्रस्तावमा प्रचण्ड-माधवको साथ रहला ?

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमालेबाहेक कम्युनिष्ट घटकहरु समाजवादी केन्द्र बनाउने विषयमा केन्द्रित हुन थालेका छन् ।

मंगलबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसद बाबुराम भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको छ । उनीहरुबीच करिब एक घण्टा छलफल भएको हो ।

जनता समाजवादी पार्टीको बहुमत केन्द्रीय कमिटीले बाबुराम भट्टराई लगायतका नेताहरु कारबाहीमा परेपछि समाजवादी केन्द्र बनाउने दिशामा प्रचण्ड-बाबुराम अग्रसर भएका हुन् । माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ। सांसद बाबुराम भट्टराईले प्रचण्डसँग पुन एक पटक एकता गरेर अघि बढ्ने विषयमा छलफल गरेको स्रोतले बतायो ।

भट्टराई माओवादीमा सम्हिलित नहुने बोरु कम्युनिष्ट घटकहरु मिलेर समाजवादी केन्द्र बनाउनेमा केन्द्रित भएका छन् । दुई नेताबीच कुरा मिलेमा प्रचण्ड-बाबुरामले आजै साँझ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच यस विषयमा छलफल गर्ने तयारी गरेका छन् ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो । त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो ।