• जेष्ठ २ २०८३, शनिबार

सामाजिक सञ्जालको माध्यमबाट ‘हनि ट्रयापिङ’मा पार्ने श्रीमान श्रीमतीसहित ३ जना पक्राउ

श्रावण २ २०७९, सोमबार

काठमाडाैं ।  योजनाबद्ध रूपमा विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत परिचालन गरेर हनि ट्रयापमा पार्ने व्यक्तिहरू पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ जनालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तिलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगेर भेटघाट गर्ने, प्रत्यक्ष भेटघाटपश्चात झूटा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डरधम्की देखाई मोलमोलाई गरेर रकम माग गर्ने र दबाबमूलक रूपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने गरेको उजुरी प्रहरीमा परेकोमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले साउन १ गते घटनामा संलग्न कल्पना बस्नेतसहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

यस्ता घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, कमलामाई–४ घर भई भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की (नक्कली प्रहरी निरीक्षक) र कमलामाई–६ भर भई भक्तपुरको बालकोट बस्ने ३१ वर्षीय कृष्णहरी खड्का (कल्पना बस्नेतको श्रीमान) लाई पक्राउ गरेको छ ।